नेपाली युवा उद्यमीहरुले सुरु गरेको स्टाटअप कम्पनी यात्रीले आफ्नो पहिलो मोटरसाइकल सात दिनपछि डिसेम्बर १९ तारिखमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले आफ्नो आधिकारीक वेभ साइटमा उल्लेख गरेअनुसार पहिलो प्रोजेक्टको रुपमा ‘प्रोजेक्ट जिरो’ सार्वजनिक गर्नेछ । उक्त प्रोजेक्ट जिरोमा प्रिमियम इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक हुनेछ भने सहरी क्षेत्रमा इलेक्ट्रीक पावर ट्रेनका फाइदाको विषयमा जानकारी दिइने भनिएको छ ।
अहिले थोरै मानिसले काम गरिरहेको यो कम्पनी २०१७ मा काठमाडौंमा स्थापना भएको हो । कम्पनीले आफ्नो विज्ञता इलेक्ट्रीक सवारी, लाइट वेट स्टक्चर, रिसर्च डेभलपमेन्ट, सफ्टवयर डेभलपमेन्ट, व्याट्री सिस्टम जस्ता विषयमा भएको उल्लेख गरेको छ ।
यदि कम्पनी प्रोफाइलमा लेखिए जस्तै कम्पनीले काम गरेको हो भने नयाँ इलेक्ट्रीक ब्राण्ड यात्रीले सफलता पाउने अनुमान गर्न सकिन्छ । आउने मोटरसाइकल कस्तो हुने छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी कम्पनीको आधिकारीक इन्ट्राग्राममा परिक्षणको क्रममा मुक्तिनाथ जाँदै गरेको क्याफे रेसर डिजाइनमा तयार भएको मोटरसाइकलको प्रोटोटाइप भने राखिएको छ ।