होन्डाले अब छिट्टै नै बजारमा होन्डा सीबी ५०० एक्स एड्भेन्चर टुरर बाइक सार्वजनिक गर्ने भएको छ । सो बाइक अप्रिल २०२१ मा सार्वजनिक हुने सम्भावना रहेको कम्पनिले जनाएको छ । कम्पनीले केही दिन अघिनै सिबी ३५० आरएस स्क्र्याम्बलर मोटरसाइकल बजारमा उतारेको थियो । सो क्रमलाई मध्य नजर गर्दै अब केही महिनापछि कम्पनिले अर्को नयाँ एड्भेन्चर मोटरसाइकल बजारमा ल्याउने तयारी गरेको जनाएको छ । होन्डा बिगविङको माध्यमबाट सो बाइकको बिक्री गरिने पनि कम्पनिले जनाएको छ ।
आगामी अप्रिलमा सार्वजनिक हुने भनिएको सिबी ५०० एक्स भारतमा एसेम्बल मात्रै हुनेछ । सो मोटरसाइकलमा ४७१ सीसी क्षमताको पावरफुल इन्जिन समावेश गरिएको छ जसले अधिकतम ४७.५ पीएस पावर र ४३ एनएम टर्क प्रदान गर्नेछ । १७.७ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिइने यो मोटरसाइकलमा स्लिपर क्लचको साथमा ६ स्पिड ट्रान्समिसनको सुविधा रहेको छ । एक पटकको फुल ट्याङ्क इन्धनले यसलाई ५०० किलोमिटर कुदाउन सकिने कम्पनीको भनाइ छ ।
सिबी ५०० एक्समा फुल एलईडी लाइटिङ, ड्युअल च्यानल एबीएस, फुल डिजिटल एलसीडी डिस्प्ले, ड्युअल ट्रिप मिटर, फ्युल लेबलको साथै गियर पोजिसन इन्डिकेटर जस्ता फिचर उपलब्ध रहने छ । अगाडि १९ इन्च र पछाडि १७ इन्चको ह्वील उपलब्ध रहने यो मोटरसाइकलमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । होन्डा सीबी ५०० एक्सको तौल १९७ किलोग्रामको रहेको छ । दुबै चक्कामा डिस्क ब्रेक, ड्यूल च्यानल एबीएस, ब्लक प्यार्टन टायर जस्ता फिचर पनी यसमा उपलब्ध रहने छ ।
होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले पहिले देखी नै नेपालमा विग बाइक विक्री गर्दै आएको छ । स्याकार ट्रेडिङले यो मोटरसाइकल नेपाल ल्याउने लक्ष्य बनाएको छ । पछिल्ला ५ महिनामा होन्डाले तीन नयाँ मोडल बजारमा ल्याइसकेको छ । नेपाली बजारमा यसको सिधा प्रतिस्पर्धा केटीएम ३९० एड्भेन्चसँग हुने अपेक्षा गरिएको छ । सो बाइक अप्रिल २०२१ मा सार्वजनिक गर्ने सम्भावना रहेको छ जसको मुल्य पनि सो समयमै सार्वजनिक हुने कम्पनिको दाबी छ ।