नेपाली बजारमा हिरो एक्सपल्स २०० फोर भी भित्रिएको छ । नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले एक्सपल्स २०० को फोर भी मोडल नेपाल ल्याएको हो । हाल परीक्षणको क्रममा रहेको सो मोटरसाइकल फागुनको अन्त्यदेखि नेपाली बजारमा औपचारिक रुपमा बिक्री प्रारम्भ हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सो मोटरसाइकल नेपालको विभिन्न स्थानमा परिक्षण गरिने छ । सन् २०१९ मा पहिलो पटक बजारमा विक्री सुरु गरेको एक्सपल्स २०० एक एड्भेन्चर मोटरसाइकल रुपमा चिनिन्छ ।
एक्सपल्स २०० फोर भी मोटरसाइकलमा प्रयोग भएको सिलिण्डरमा ४ वटा भल्भको प्रयोग गरिएको छ । यसमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्दछ । नयाँ फोर भी मोडलले पहिलेको भन्दा १.०२ पीएस पावर र ०.९ एनएम टर्क बढी प्रदान गर्छ । ७ फिन आयल कुलरको प्रयोग गरिएको सो मोटरबाइकमा ५ स्पिड गियरबक्स उपलब्ध रहेको छ ।
एक्सपल्स २०० फोर भीको लम्बाई २२२२ एमएम, चौडाई ८५० एमएम, उचाई १२५८ एमएम, ग्राउण्ड क्लियरेन्स २२० एमएम र १४१० एमएमको ह्वीलवेस रहेको छ । मोडिफाई गरिएको यसको सिट हाइट २ एमएमले बढाइएको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १५८ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेक दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ ।
हिरोले एक्सपल्स २०० फोर भीको स्टार्ट र किल स्वीच अपग्रेड गरेको छ । एक्सपल्स २०० फोर भीमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर थप गरिएको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । त्यस्तै यसमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, ड्युअल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् ।
हाल नेपाली बजारमा उपलब्ध एक्सपल्स २०० को मुल्य ४ लाख २ हजार निर्धारण गरिएको छ भने एक्सपल्स २०० फोर भीको मूल्य ४ लाख ५० हजारदेखि ४ लाख ८५ हजार रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा उपलब्ध हुने एक्सपल्स २०० ४ भीको मूल्य पछि नै तोकिने कम्पनीले जनाएको छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर, एफजेड, केटीएम ड्युक, होन्डा जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।