टाटा नेक्सन ईभीको डार्क एडिसन नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङले नेपालमा विक्री सुरु गरेको नेक्सन ईभीको डार्क एडिसन चाँडै नेपाली बजारमा सार्वजनिक गरिने पनि जनाएको छ । रेगुलर भेरिएन्टको तुलनामा २ लाख रुपैयाँ बढी मूल्य राखेर यसको बुकिङ समेत खुल्ला गरिएको कम्पनीले जनाएको छ । नेक्सन ईभी डार्क एडिसन एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी दुई भेरियन्टमा उपलब्ध रहेको छ । यसको नेपाली बजार मूल्य क्रमशः ४१ लाख ९९ हजार र ४३ लाख ९९ हजार तोकिएको छ ।
टाटा मोर्टर्सले सो कारलाई ब्ल्याक कलर थिममा डिजाइन गरेर बजारमा उतारेको छ । यसको भित्री र बाहिरी दुवै भागमा आकर्षक तवरले कालो रङलाई समायोजन गरिएको छ भने कारको ड्यासवोर्डलाई पियानो ब्ल्याक कलर र सिट लगायत अन्य इन्टेरियर फिचर्सलाई डार्क थिम दिइएको छ । टाटा नेक्सन ईभी डार्क एडिसन भएको कारण यो ईभी मिड नाइट ब्ल्याक कलरमा मात्र उपलब्ध रहने कम्पनीले जनाएको छ । नियमित विक्री हुँदै आएको नेक्सन ईभी सेतो र निलो कलरमा मात्र उपलब्ध थियो ।
टाटा नेक्सनको डर्क एडिसनमा पनि रेगुलर मोडलको जस्तै ३०.२ किलोवाट आवरको ब्याट्री र पीकपावर ९५ किलोवाट क्षमताको मोटर दिइएको छ । एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिन्छ भने सो इभी सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने देखिएको छ । नेक्सन–इभीको ८० प्रतिशत चार्ज ६० मिनेटमै हुने कम्पनीको भनाइ छ भने जसको लागि डिसीचार्जर प्रयोग गर्नु पर्ने छ । यसमा अनबोर्ड चार्जर भने ३.३ किलोवाट क्षमताको रहने छ ।
टाटा नेक्सन डार्क एडिसनको लम्बाई ३९९४ एमएम, चौडाई १८११ एमएम, उचाई १६०७ एमएम, २४९८ एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३५० लिटर क्षमताको बुट स्पेश दिइएको छ भने यसको वजन भने १४०५ केजी रहेको छ । यसका साथै यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम, १६ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेकलाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्प पाउन सकिन्छ ।
नेक्सन ईभीको डार्क एडिसनमा सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, बडी कलर डोर ह्याण्डल, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, र भ्वाइस अलर्ट सिस्टम जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षाको लागि सो गाडीमा एयरब्याग, ईबीडी सहितको एबीएस, टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । एक्सजेड प्लस लक्जरीमा भने सनरुफ समेत उपलब्ध रहेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।