फोर्डले आफ्नो चर्चित एसयूभी एभरेष्टको नयाँ जेनेरेशन मोडल नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागी फोर्डको आधिकारीक विक्रेता जिओ अटोमोबाइल्स प्रालिले नयाँ संस्करणको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ को नेपाली बजारमा बिक्री सुरु भएको पनि जनाएको छ । नयाँ जेनेरेशन एभरेष्ट फोर्डको चर्चित पीकअप रेन्जर मोडलबाट प्रेरित छ । यसमा निकै उत्कृष्ट पावर फुल इन्जिन र आधुनिक स्टाइलिस डिजाइन पाउन सकिने कम्पनीले जनाएको छ । पहिलेको तुलनामा नयाँ एभरेष्ट निकै आकर्षक पनि रहेको छ ।
नेक्स्ट जेन फोर्ड एभरेष्टमा २.० लिटर क्षमताको वाई टर्बो डिजेल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम २१० पीएस पावर र ५०० एनएम टर्क प्रदान गर्छ । यसमा १० स्पीड क्षमताको अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ । यसमा कोइल स्प्रीङ सहितको डबल विसवोन सस्पेन्सन दिइएको छ जसले गर्दा अफरोड ड्राइभिङलाई पनि सहज बनाउन मद्दत गर्दछ । नेक्स्ट-जेन फोर्ड एभरेष्ट ८०० एमएम गहिरो पानीमा समेत सहज तरिकाले चलाउन सकिने कम्पनीले जनाएको छ । एभरेष्ट फोर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध रहेको छ ।
नेक्स्ट-जेन एभरेष्टको लम्बाई ४९१४ एमएम, चौडाई २२०७ एमएम, उचाई १८४२ एमएम, २९०० एमएम ह्वीलवेस र २२९ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २४९ लिटर क्षमताको बुट स्पेश र ८० लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १०-१२ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने २२५९ केजी रहेको छ । हाल उपलब्ध एभरेष्टको तुलनामा नयाँ एभरेष्टक बढी फराकिलो भएको कारण नयाँ एसयूभीमा निकै धेरै स्पेश पाउन सकिन्छ ।
नया एभरेष्टमा फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी–क्ल्याम्प हेडल्याम्प दिइएको छ । यसैगरी यसमा १२ इन्चको टचस्क्रिन, १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, ड्राइभर असिस्ट टेक्नोलोजी, एक्टिभ पार्क असिस्ट २.०,स्टप एण्ड गोको साथमा नयाँ क्रुज कन्ट्रोल, एम्बीयन्ट लाइट, भ्यान्टिलेटेड सिट, वायरलेस चार्जर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, फोर्डको पास कनेक्ट कार टेक, पानारोमिक सनरुफ, कुल्ड ग्लोबबक्स, पावर फोल्डिङ थर्ड रो सिट, पावर टेलगेट जस्ता बिशेषता उपलब्ध रहेका छन् । यसमा फोर्डको नवीनतम सिंक फोरए (SYNC4A®) प्रणाली रहेको छ ।
सुरक्षाको तवरबाट पनि फोर्ड एभरेष्ट निकै उत्कृष्ट रहेको छ । सुरक्षाको लागि नयाँ एभरेष्टमा ९ वटा एयरव्याग, ह्याण्ड-फ्रि पार्किङ, एडाप्टीभ क्रुज कन्ट्रोल, फोर्डको प्रि-कोलिजन एसिस्ट जस्ता फिचर उपलब्ध रहेका छन् । यसैगरी यसमा टायर प्रेसर मोनिटरिङ सिस्टम, ईबीडी सहितको एबीएस, अव्स्टेकल डिटेक्सन, टच लेन इन्डिकेटर, स्पिड सेन्सिङ डोरलक र एन्टी–थेफ्ट अलार्म जस्ता सेफ्टी फिचर पाउन सकिन्छ । यसमा ३६० डिग्री भ्यू क्यामेरा, पावर्ड लिफ्टगेट र ८ तरिकाबाट एडजस्ट गर्न मिल्ने सिट जस्ता अन्य फिचर पनि पाउन सकिन्छ ।
नेपाली बजारमा नयाँ जेनेरेशन फोर्ड एभरेष्टको मुल्य २ करोड ४० लाख रुपैयाँ निर्धारण गरिएको छ । यसमा ३ वर्ष वा ६० हजार किलोमिटर सम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ । जीओ फोर्डले थाइल्यान्डबाट सो गाडी नेपाल भित्र्याएको जनाएको छ । फोर्ड एभरेष्ट फुल फिचर लोडेड एसयूभी हो जुन विश्व बजार र एसियाली देशमा सबैभन्दा रुचाइने एसयूभीमा पर्दछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।