नेपाली बजारमा एमजीको सर्वाधिक सफल इलेक्ट्रीक मोडल जेडएसको २०२२ भर्सन सार्वजनिक भएको छ । नेपालका लागि एमजीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले जेडएस ईभीको २०२२ भर्सन सार्वजनिक गरेको हो । आज अर्थात आइतबार एक कार्यक्रम आयोजनागरी फेसलिफ्ट जेडएस इभी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । जेडएस ईभी स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरिएन्टमा नेपाली बजारमा सार्वजनिक गरिएको छ । एमजीको जेडएस इभी नेपाली बजारमा सर्वाधिक विक्री भएको विद्युतीय गाडी हो ।
नयाँ जेडएसमा ५१.१ किलोवाट आवर र ७२.६ किलोवाट आवर गरी दुई ब्याट्री अप्सन दिइएको छ । यसमा रहेको ५१.१ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ४ सय किलोमिटर र ७२.६ किलोवाट आवर क्षमताको व्याट्रीले सिंगल चार्जमा ५ सय किलोमिटर रेन्ज दिनेछ । सो इलेक्ट्रिक कारलाई फास्ट चार्जरको माध्यमबाट ४० मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसमा १३० एचपीको पावर र २८० एनएमको टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ ।
एमजी जेडएस ईभीको लम्बाई ४३१४ एमएम, चौडाई १८०९ एमएम, उचाई १६२० एमएम रहेको छ । यसमा २५८५ एमएमको ह्वीलवेस र २०५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । सो इलेक्ट्रिक कारमा १८ इन्चको अलोय ह्वील समावेश गरिएको छ । जेडएसको तौल १५६६ केजी रहेको छ भने सो कारमा ४७० लिटरको बुट स्पेस पाउन सकिन्छ ।
एमजी जेडएस ईभी २०२२ मा नयाँ आधुनिक विशेषताहरु पाउन सकिन्छ । यसमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प दिइएको छ । यसैगरी यसमा ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर पाउन सकिन्छ ।
कम्पनीले स्ट्यान्डर्ड रेन्ज भेरिएन्ट अर्थात ५१ किलोवाट क्षमताको नेपाली बजार मुल्य ५१ लाख ९९ हजार निर्धारण गरेको छ भने लङ रेन्ज भेरिएन्ट अर्थात ७२ किलोवाट क्षमताको नेपाली बजार मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । कम्पनीले ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।