फ्रेन्च कार निर्माता कम्पनी सिट्रोनले नयाँ सब फोर मिटर एसयूभी सीथ्री नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतीक्षित एसयूभी नयाँ सिट्रोन सीथ्री लिभ र फिल मोडल गरी दुई भेरियन्टमा नेपालमा सार्वजनिक गरेको हो । भारतमा उत्पादन भएको सिट्रोन सीथ्रीमा आकर्षक स्टाइलिङ, अपडेटेड डिजाइन र नयाँ फिचर पाउन सकिन्छ । आकर्षक डिजाइनमा निर्मित सिट्रोन सीथ्रीले ख्याती प्राप्त वर्ल्ड अर्बन कार २०२३ अवार्ड जित्न सफल भएको थियो ।
सिट्रोन सीथ्रीमा १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । पावरफुल पेट्रोल इन्जिन रहेको एक्सयूभी सीथ्री जस्तोसुकै बाटोको लागि उपयुक्त हुनेछ । ५ स्पिड म्यानुअल ट्रान्समिसनको साथै डुअल क्लच अटो अप्सनमा समेत सो एसयुभी उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसको चार वटै पाङ्ग्रामा डिस्क ब्रेकका साथै यसमा एबीएस पनि पाउन सकिन्छ । यसको स्पीड पनि निकै उत्कृष्ट रहेको छ जसले ५ सेकेन्डमा ० देखि ६० किमि प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।
सिट्रोन सीथ्रीको लम्बाई ३९८१ एमएम, चौडाई १७३३ एमएम, उचाई १५८६ एमएम, २५४० एमएम ह्वीलवेस र १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ३१५ लिटर क्षमताको बुट स्पेश र ३० लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले १८-२० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने ९३९ केजी रहेको छ । सो कार ५ सिट क्षमतामा उपलब्ध रहेको छ । यसैगरी यसमा भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील पाउन सकिन्छ ।
सिट्रोन सीथ्रीको डिजाइन र फिचर सिट्रोन सी फाइभबाट प्रेरित रहेको छ । यसमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी टेल लाइट, स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, स्पोर्टी बम्पर, ड्यूलटोन अलोय ह्वील, क्रोम हाइलाइट सहितको फ्रन्ट ग्रिल, १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, र यूएसबी चार्जिङ पोर्ट जस्ता बिशेषता पाउन सकिन्छ । सुरक्षाका लागि यसमा दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर, एन्टी–थेफ्ट अलार्म र स्पीड अलर्ट जस्ता फिचर पाउन सकिन्छ ।
सिट्रोन सीथ्री टप स्पेक भेरियन्ट लिभको नेपाली बजार मूल्य ३४ लाख ४९ हजार र फिलको मूल्य ३६ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । यसमा दुई वर्ष अथवा ४० हजार किलोमिटरसम्मको वारेन्टी रहेको कम्पनिले जनाएको छ । कम्पनिका अनुसार नजिकैको सिट्रोन शोरूममा गएर यसको टेस्ट ड्राइभ समेत गर्न सकिने छ । सो एसयूभीले नेपाली बजारमा हुन्डाई भेन्यू, किया सोनेट, होन्डा डब्लुआरभी, निशान म्याग्नाइट, रेनो काइगर, र महिन्द्रा एक्सयूभी ३०० जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।