आगामी दसैं भन्दा पहिले नेपाली बजारमा फक्सवागनको शक्तिशाली १.० टीएसआई गाडी नेपाली बजारमा उपलब्ध हुने जानकारीहरु बाहिरिएका छन । नेपालमा फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनलले आफ्नो फेसबुक पेजमा समेत ‘मोस्ट पावरफुल ह्याचब्याक कमिङ सुन’ भनेर यसलाई टिज गरेको छ । पूजा इन्टरनेसनलले लकडाउनकै बीचमा गत साउन महिनामा फक्सवागन पोलो फेसलिफ्ट नेपाली बजारमा भित्र्याएको थियो ।
१.० लिटरको भए पनि यो टीएसआई इन्जिन भएकाले यसले हाल उपलब्ध १.६ लिटरको इन्जिन भन्दा पनि बढी पावर प्रदान गर्ने पूजा इन्टरनेसनल स्रोतले बताएको छ । ९९९ सिसी इन्जिन क्षमताको पोलो १.० ले ६ हजार २ सय आरपिएममा ७६ पिएस उच्च पावर दिन्छ भने ४ हजार ३ सय आरपिएममा ९५ एनएम टर्क उत्सर्जन गर्छ । सो गाडीको बजार मूल्य अहिले २६ लाख ९५ हजार रहेको छ । गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम, एयर ब्याग, गाल्भनाइज्ड बडी, पावर विन्डो, रियर भ्यू, क्यामेरा, पावर स्ट्यरिङ लगायतका फिचर्स समावेश छन् ।
यसअघि फक्सवागनको पोलो गाडी १६०० र १२०० सिसीमा उपलब्ध थियो। आर्थिक वर्ष ०७५/७६ को बजेट व्यवस्थाले १००० सिसी भन्दा मााथिका गाडीमा कर बृद्धि गरेको थियो । शुरुमा नेपाली बजारमा फक्सवागनका गाडी भित्र्याउदा यसका पार्ट्स सिंगापुरबाट ल्याइन्थ्यो । यसले गर्दा फक्सवागनका पार्ट्स महंगा हुन्छन् भन्ने आम मान्यता पनि थियो । तर हाल यसका पार्ट्स भारतबाटै आयात हुन्छन् । भारतबाट पार्ट्स आयात गर्दा यसका पार्ट्सको मूल्य पनि सस्तो भएको कम्पनीको भनाइ छ ।
PREVIOUS NEWS
NEXT NEWS