सुजुकी मोटरसाइकलले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको जनाएको हो । सन् २०२३ को सुरुवातीमा सार्वजनिक गर्ने तयारी भएको भी–स्ट्रोम २५० बिभिन्न कारणले गर्दा नेपाली बजारमा सार्वजनिक हुन सकेको थिएन । कम्पनीले अबको केही महिनामै यसलाई नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ ।
सुजुकी भी स्ट्रोम २५० मा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसैगरी भी–स्ट्रोम २५० को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ ।
सुजुकी भी स्ट्रोम २५० को लम्बाई २१८० एमएम, चौडाई ८३० एमएम, उचाई १३५५ एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र १४४० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १६७ केजी रहेको छ । यो मोटरसाइकलको सिटको उचाई ८३५ एमएम रहेको छ । सो बाइकले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । १७ इन्चको अलोय ह्वील रहेको भी स्ट्रोमले २५० देखी ३०० केजी सम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ । सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक रहेको छ ।
सुजुकीको नयाँ एड्भेन्चर मोटरसाइकलमा सबै प्रकारका लाइटहरु एलईडी दिइएको छ जसमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप र नयाँ टेल ल्याम्प सेटअप पाउन सकिन्छ । यसैगरी यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, व्लुटथ कनेक्टीभीटी, टर्न वाई टर्न नेभिगेशन, साइड स्ट्याण्ड सेन्सर, र फ्रन्ट भाइजर जस्ता अन्य फिचर उपलब्ध छन् । यसमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ ।
भी–स्ट्रोम २५० ब्ल्याक, ओरेन्ज र पहेलो गरी तीन कलर अप्सनमा उपलब्ध रहेको छ । सुजुकी भी–स्ट्रोम २५० को नेपाली बजार मुल्य ८ लाखदेखि ८ लाख ५० हजार रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा केटीएम एड्भेन्चर २५० र होन्डा सीआरएफ ३०० सँग हुनेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram, TikTok, Threads पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।