बजाज अटोले आफ्ना दुई नयाँ मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नाडा अटो शो २०२२ मा बजाजका दुई नयाँ मोटरसाइकल बजाज पल्सर एन २५० र एफ २५० सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि आयोजना हुने अटो शोमा पल्सर एन २५० र एफ २५० का दुई मोडल सार्वजनिक गर्ने जनाएको हो । यी दुबै मोडल नयाँ जेनेरेशन पल्सरको आधारमा रहने कम्पनीले जनाएको छ ।
बजाज पल्सर २५० सिरिजमा २४९ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले २४.१ बीएच पावर तथा २१.५ एनएमटर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यि मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ भने यसमा सिंगल च्यानल र डबल च्यानल एबीएसको अप्सन रहेको छ । बजाज पल्सर एन २५० र एफ २५० मा टेलिस्कोपिक फोर्क अप फ्रन्ट र मोनो–शक प्रयोग गरिएको छ भने यसमा १७ इन्चको ह्वील रहेको छ ।
बजाज पल्सर एन २५० र एफ २५० को लम्बाई २०३५ एमएम, चौडाई ७५० एमएम, उचाई ११६५ एमएम, ग्राउण्ड क्लियरेन्स १६५ एमएम र १३५१ एमएम ह्वीलवेस रहेको छ । सो बाइकमा १४ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । तौल १५४ केजी छ । बजाज पल्सर एन २५० को तौल १६२ केजी रहेको छ भने एफ २५० को तौल १६४ केजी रहेको छ । बाइकको फ्रन्टमा १००/८०–१७ इन्चको टायर र रियरमा १३०/७०–१७ इन्चको टायर रहेको छ ।
बजाज पल्सर एन २५० नेकेड स्ट्रीट डिजाइनमा रहेको छ भने पल्सर एफ २५० सेमी फियर्ड डिजाइनमा रहेको छ । बजाज पल्सर २५० सिरिजमा एलइडी हेडल्याम्प, एलइडी लाइट, ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की, यूएसबी चार्जिङ पोर्ट, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, र अन्डरवेली एग्जस्ट जस्ता बिशेषता पाउन सकिन्छ । कम्पनीले यसमा सबै डिजिटल डिस्प्लेको प्रयोग गरेको जनाएको छ भने ट्यूवलेस टायर पनि यसमा रहेको छ ।
बजाज पल्सर २५० सिरिजको नेपाली बजार मूल्य ४ लाख ५० हजार रुपैयाँबाट सुरु हुने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा पल्सर २५० सिरिजले यामाहा एफजेड २५ र सुजुकी जिक्सर २५० सँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।