नेपालको लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटो कर्पले निसानको चर्चित इलेक्ट्रीक कार लिफ अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । पायोनियर मोटोकर्पले आफ्नो फेसबुक पेजमा यसको संकेतको रुपमा टिजर पनि सार्वजनिक गरेको छ । निसान नेपालले आफ्नो फेसबुक पेजमा ‘कमिङ सुन’ लेखेर यसको वारेमा सार्वजनिक हुने संकेत दिएको छ । निसान लिफ विश्व बजारमा अहिलेसम्मकै धेरै बिक्री भएको मध्य एक इलेक्ट्रीक कार मोडल हो ।
नेपाली बजारमा पनि इलेक्ट्रीक कारको बिक्री बढ्दै गएकाले पायोनियर मोटोकर्पले लिफलाई नेपाली बजारमा ल्याउन लागेको जनाएको छ । हालै बजेटमा गरिएको नयाँ व्यवस्थाका कारण अन्तःशुल्क खारेज गरिनुका साथै भन्सार शुल्कमा समेत समायोजन गरिएकाले पायोनियर मोटोकर्पले निसान लिफ नेपाली बजारमा भित्राउन लागेको हो । निसान लिफ सबैभन्दा सुरक्षित इलेक्ट्रिक कारमा पर्दछ जुन आधुनिक ई–पेडल टेक्नोलोजीमा रहेको कम्पनीले जनाएको छ ।
निसान लिफमा १६० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ जसले २१४ बीएच पावर प्रदान गर्दछ । लिफले एक पटकको पूलचार्जमा ३६३ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दाबी छ । कारमा व्याट्री बचतको लागि बिभिन्न तीन मोडहरु दिइएको छ जसमा इको मोडमा कार चलाउदा १० प्रतिशतले रेञ्ज बढ्ने कम्पनीले दाबी गरेको छ । सो कारमा ४० किलोवाटको लिथिएम आयन ब्याट्रीको प्रयोग गरिएको छ ।
४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा ३ किलोवाट क्षमताको चार्जरले ब्याट्री चार्ज गर्न १६ घन्टा लाग्ने छ भने ६ किलोवाट चार्जर प्रयोग गर्दा ८ घन्टामा फुलचार्ज गर्न सकिने छ । यसको मूल्य भने हाल सार्वजनिक गरिएको छैन तर केही दिनमै यसको नेपाली बजार मूल्य पनि सार्वजनिक हुने कम्पनीले दाबी गरेको छ । अधिक हर्सपावर र टर्क सहित आउने निसान लिफमा मोडेर्न टेक्नोलोजी र उत्कृष्ट फिचरहरु पनि उपलब्ध छन ।