एमजी मोटरले बजारमा उपलब्ध गराएको इलेक्ट्रिक कार जेडएस ईभी अपग्रेड हुने भएको छ । हाल २ भेरिएन्टमा उपलब्ध सो एसयूभीले फुल चार्जमा ३४० किलोमिटरको रेन्ज दिन्छ । अब कम्पनीले बढी रेन्ज दिने भेरिएन्टको लागि तयारी गर्दैछ । जेडएस ईभी एसयूभी ४४.५ किलोवाट, लिक्विड कुल्ड ब्याट्री र आईपी–६७ सर्टिफाइड लिथियम आयन ब्याट्री प्याकको साथमा उपलब्ध रहेको छ ।
रिपोर्टका अनुसार कम्पनीले ल्याउन लागेको नयाँ एसयूभीको रेन्ज ५०० किलोमिटर हुने अनुमान गरिएको छ । यद्यपि सो एसयूभीको लन्चिङ सयमको बारेमा केही जानकारी दिइएको छैन । एमजीले इलेक्ट्रिक भेइकलको लागि कम्पोनेन्ट्स लोकलाइजेसन बढाउनेमा पनि केन्द्रित रहेको छ । कम्पनीले ब्याट्रीमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरेको छ।
रिपोर्टका अनुसार एमजीले जेडएस ईभीको पेट्रोल मोडल भारतमा सार्वजनिक गर्ने तयारी गर्दैछ । यसलाई अर्काे वर्ष सार्वजनिक गर्नेछ । पेट्रोल इन्जिन भएको एमजी जेडएस एसयूभीको मूल्य १६ लाख हुने अनुमान गरिएको छ । सो कार हुन्डाई क्रेटा र किया सेल्टोससँग प्रतिस्पर्धा हुनेछ ।नेपाली बजारमा पनि एमजी जेडएस ईभी उपलब्ध छ । यसको सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
एमजी अर्थात मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्युजिल्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरिएन्ट एमजी जेडएस ईभीले युरोपमा ३ हजार भन्दा बढि अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको छ ।
PREVIOUS NEWS