नेपाली उपभोक्तामाझ १५० सीसीको बाइकहरु निकै लोकप्रिय रहेको देखिन्छ । औषत मूल्य, उच्च माइलेज, पावरफुल, स्टाइलिस लगायतका गुणले भरिपूर्ण हुने हुँदा १५० सीसीका बाइकमा यूवाहरु तानिएका हुन् ।
नेपालमा उपलब्ध अधिकांश ब्रान्डले यो सेगमेन्टका बाइकहरु भित्राएका छन् । खासगरी नेपालमा होन्डा, बजाज, हिरो, एफजेड,सुजुकीका १५० सीसी बाइक लोकप्रिय रहेका छन् ।
हरेक उमेर समूहका व्यक्तिले सहजै चलाउन सकिने हुँदा पनि यो सेगमेन्ट सर्वाधिक रोजाईमा पर्न सफल भएको व्यवसायी बताउँछन् । खासगरी युवाहरुले पावर र स्टाइललाई विशेष ध्यान दिने हुँदा सस्तो मूल्यमा पावरफुल र आकर्षक डिजाइनको बाइक पाइने हुँदा यो सेगमेन्ट रोज्ने गरेको पाइएको छ ।
नेपालमा यो सेगमेन्टमा बजाजका २, होन्डाको ३, हिरोका ४, यामाहाको ५, सुजुकीको २ वटा मोडल उपलब्ध छन् । अन्य ब्रान्डले पनि यो सेगमेन्ट बाइकमा विशेष ध्यान दिन थालेको देखिन्छ । अमेरिकन ब्रान्ड युएमले पनि १५० सीसीको बाइक भदौमा हुने अटो-शोमा सार्वजनिक गर्दैछ ।
यो सेगमेन्टको बाइक लोकप्रिय हुनुको कारण मध्यम रेञ्ज, खाल्डाखुल्डी बाटोमा पनि खासै समस्या नआउने, उच्च माइलेज लगायतका कारण रहेको हिरोका मार्केटिङ प्रमुख दिनेश रत्न बज्राचार्य बताउँछन् । नेपालमा वाषिर्क डेढ लाखको हाराहारीमा बाइकहरु आयात हुने गर्छन । जसमध्ये एक चौथाई बाइकहरु यही सेगमेन्टको हुने गर्छ ।
धेरै सीसीका मोटरसाइकल चलाउनका लागि नेपालमा उपयुक्त बाटो नभएकाले पनि यो सेगमेन्टका मोटरसाइकल युवाहरुको रोजाइमा परेको छ ।
१५० सीसी भन्दा माथिका बाइक हेर्दा आकर्षक लागे पनि हेभी हुने भएकाले चलाउन गाह्रो हुन्छ । त्यसमाथि माइलज समेत कम दिने हुँदा मध्यम स्तरको बाइकमा सबैको आँखा लागेको व्यवसायीको भनाई छ ।
मध्यम वर्गीयहरुले यो सेगमेन्टका बाइक चढ्नुलाई ‘स्टाटस सिम्बोल’को रुपमा समेत हेर्ने गर्छन । सय सीसीसमम्मका मोटरसाइकल चढ्दै आएका युवा तथा अर्धबैंसेले १५० सीसी सेगमेन्टकै मोटरसाइकल रोज्न थालेका छन् ।
१५० सीसीकाको बाइक अफरोडमा समेत राम्रोसँग कुदाउन सकिन्छ । यो सेगमेन्टका बाइकमा डिजीटल डिस्प्ले, अटो अनअफ, डिसब्रेक लगायत धेरै सुविधाहरु हुन्छन । पछिल्लो समय यो सेगमेन्टका बाइक महंगा बाइककै डिजाइनमा भित्रिन थालेका छन् ।
PREVIOUS NEWS