नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नयाँ प्रिमियम एसयूभी टाटा सफारी औपचारिक रुपमा सार्वजनिक गरेको छ । टाटाको आइकोनिक एसयूभी सफारी नयाँ जेनेरेशन मोडल हो जुन सिप्रदी ट्रेडिङले यही हप्ताबाट यसको आधिकारीक विक्री सुरु गर्ने जनाएको छ । ७ सिट अप्सनको रुपमा यसलाई कम्पनीले नयाँ जेनेरेशन सफारीको रुपमा बजारमा ल्याएको हो जुन आरामदायी, उत्कृष्ट कार्य क्षमता र शानको बेजोड सम्मिश्रण भएको छ । नयाँ सफारीको डिजाइन आकर्षक, बलियो र स्पोर्टी रहेको कम्पनीको भनाइ छ ।
टाटाको ओमेगा आर्किटेक्चरमा तयार भएको अल न्यू सफारी ल्याण्डरोभरबाट प्रेरित रहेको छ । टाटा सफारीमा २.० लिटर क्षमताको क्रियोटेक टर्बो डिजल इन्जिन दिइएको छ जुन इन्जिनले १७० एचपी र ३५० एनएम पीक टर्क जेनरेट गर्न सक्षम छ । यो इन्जिन ६ स्पिड म्यानुअल ट्रान्सिमिसन र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध छ । यसमा २० इन्चको अलोय ह्विल दिइएको छ । त्यस्तै सो कारमा ४६६१ एमएमको लम्बाइ, १८९४ एमएमको चौडाइ, १७८६ एमएमको उचाई, र २६५१ एमएमको ह्वीलवेस दिइएको छ ।
नयाँ टाटा सफारी एसयूभीमा ७ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र आईआरए कनेक्सनको साथमा ८.८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध रहेको छ । नयाँ सफारीमा आईआरए कनेक्ट कार टेक फिचर दिएको छ जसमा सेफ्टी फिचर, मनोरञ्जन र डाइनोस्टीक फिचर उपलब्ध छन । त्यस्तै सो कारमा इलेक्ट्रोनिक पार्किङ ब्रेक, ९ स्पिकर जेबीएल अडियो सिस्टम, पानारोमिक सनरूफ, टेरेन रेस्पोन्स मोड र सेफ्टीको लागि ६ वटा एयरब्याग जस्ता बिशेषताहरु पनि उपलब्ध गराइएको छ । आरामदायी सिटको प्रयोगले लामो यात्रा गर्दा यात्रुलाई थकान महशुस नहुने कम्पनीको दाबी छ ।
नयाँ टाटा सफारीको नेपाली बजार मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सो एसयूभी २ भेरिएन्टमा उपलब्ध हुनेछ । आधुनिक युगका आकर्षक र शक्तिशाली एसयूभी रुचाउने ग्राहकलाई यसले आकर्षित गर्ने कम्पनीको भनाइ छ । सो कारले नेपाली बजारमा महिन्द्रा स्कार्पियो, एक्सयुभी ५०० र रेनल्ट डस्टरसँग प्रतिस्पर्धा गर्ने छ ।
PREVIOUS NEWS