मारुती सुजुकीको नयाँ अल्टो कार परीक्षणको समयमा धेरै अगाडि देखा परेको थियो । कम्पनीले सो कार २०२१ मा लन्च गर्ने योजना बनाएको थियो तर, कोभिड – १९ को कारणले गर्दा यसको सार्वजनिक मिती सारिएको छ । नयाँ अल्टो अब २०२२ मा सार्वजनिक हुने भएको कम्पनिले जनाएको छ । नेपाली सडकमा सबैभन्दा बढी देखिने गाडी हो मारूती सुजुकी अल्टो । मारुती सुजुकीले आफ्नो चर्चित मोडल अल्टोमा नयाँ फिचर थप गरेर सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसलाई फेसलिफ्ट नभनेर नयाँ संस्करण नै भन्ने जनाएको छ ।
रिपोर्टका अनुसार नयाँ अल्टो हार्टटेक प्लेटफर्ममा आधारित हुनेछ जसको प्रयोग वागन आर र एस–प्रेसोमा पनि गरिएको छ । कम्पनीले उत्पादन गर्दै आएको अल्टो ८०० मा बीएस ६ मापदण्डको इन्जिन प्रयोग हुने छ भने सो कारमा ६६० सीसी नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरिएको छ जसले ४९ बीएचपीको पावर जेनेरेट गर्छ । यो कम्पनीको इन्वीयूल्ड सिस्टम हो । जापानमा बिक्री गरिने अल्टो जस्तै यसको डिजाइन हुने र नेपाली रोजाईलाई ध्यान दिइने कम्पनीले जनाएको छ । हाल नेपाली बजारमा नयाँ इन्जिनयुक्त अल्टोको बिक्री वितरण हुँदै आएको छ ।
कम्पनीले अल्टोमा ७ इन्चको आधुनिक डिजाइनको स्मार्टप्ले २.० सिस्टम दिने भएको छ । अल्टोको नयाँ भेरियन्टमा ड्राइभर साइड एयरव्याग, एबीएस, इबीडी, हाईस्पीड अलर्ट, रिर्भस सेन्सर र सिटबेल्ट रिमाइन्डर जस्ता फिचर उपलब्ध रहने छ । कम्पनीका अनुसार अल्ट्रा र एडभान्ड हार्ई स्ट्रेन्थ स्टिलको प्रयोग गरी सो मोडल निर्माण गरिएको छ । सो कारमा कस्मेटिक परिवर्तन, फिचर अपग्रेड र नयाँ प्लेटफर्मको कारण यसको मूल्यमा अलि बढोत्तरी हुनेछ । सो कार म्यानुअल र एएमटी गियरबक्सको विकल्पमा उपलब्ध हुनेछ ।