केही दिन पहिले नेपाली बजारमा उपलब्ध भएको र भारतीय बजारमा निकै नै चर्चा पाइरहेको किया सेल्टोस अब इलेक्ट्रिक भर्सनमा समेत आउने भएको छ । रिपोर्टका अनुसार किया सेल्टोस ईभी अर्को बर्ष बजारमा उपलब्ध हुन सक्ने सम्भावना छ । यसको इलेक्ट्रिक मोटर र ब्याट्री हुन्डाई कोना इलेक्ट्रिकबाट लिने सम्भावना छ । इलेक्ट्रिक सेल्टोसको कोडनेम एसपी२ ईभी राखिएको छ ।
हुन्डाई कोना इलेक्ट्रिकमा ३९.२ किलोवाट आवरको ब्याट्री प्याक छ । यसमा भएको इलेक्ट्रिक मोटरले १३४ बीएचपी पावर र ३९५ एनएम टर्क जेनेरेट गर्छ । यसमा अर्को ६४ किलोवाट आवरको ब्याट्री प्याक पनि छ । सेल्टोस इलेक्ट्रिकको रेन्जलाई एक पटक फुल चार्ज गर्दा ४ सय किलोमिटर चलाउन सकिने अनुमान छ ।
यसलाई एसियाली बजारमा बिक्री गरिने बताइएको छ । नेपाली बजारमा उपलब्ध भएको किया सेल्टोसको मूल्य ४९ लाख ९० हजार रुपैयाँ देखि ८० लाख रुपैयाँ सम्म तोकिएको छ । एचटीके, एचटीके प्लस, एचटीएक्स र एचटीएक्स प्लस गरी चार भेरिएन्टमा यो कार नेपाली बजारमा उपलब्ध छ । यो १.५ लिटर पेट्रोल, १.५ लिटर डिजेल र १.४ लिटर टर्बो पेट्रोल इन्जिनमा उपलब्ध छ ।
सेल्टोसमा १० इन्च स्क्रिन, बोस म्युजिक सिष्टम, फ्रन्ट र ब्याक एलईडी लाइट, एयर प्युरिफायर, डी–कट स्टेयरिङ, यूभी ग्लास जस्ता विशेषता छन् । यी विशेषता यही सेगमेन्टका अन्य ब्रान्डमा छैनन् । नेपालमा केही दिन पहिले यसको बिक्री शुरु गरिएको थियो । लन्च भएको पहिलो महिनामै आफ्ना सेगमेन्टको एसयूभी पारखीमाझ सेल्टोस निकै नै लोकप्रिय बनेको थियो ।
PREVIOUS NEWS